नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ढिस्को भत्काउने कामले गति लियो

हल्कारो समाचार

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने कामले गति लिएको छ । यसअघि विस्फोटको विकल्प नरहेको भन्दै भत्काउन रोकिएकामा अन्तिम विकल्पका रुपमा पुनः भत्काउन थालिएको थियो । यही पुस ७ गतेदेखि दुईतर्फी सडक बन्द गरेर दिउँसोमा भत्काउने काम गरिँदै आएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार पुल बनाउनका लागि तुइन खोलाको आडमा रहेको ढिस्को भत्काउन थालिएको हो ।

करिब ६० मिटर अग्लो ढिस्को गत वर्ष भत्काएर ३५ मिटरमा झारिएको थियो । कडा चट्टान आएपछि काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उहाँले जानकारी दिनुभयो । आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ । गएको दश दिनमा छ मिटर पहाडको चट्टान भत्काइएको छ । गत साल २२ टनको ब्रेकरमात्र प्रयोग गरिएको थियो । आचार्यले कामको गतिलाई हेरेर आफूहरु उत्साहित भएको बताउनुभयो ।

उहाँको भनाइमा यही ढङ्गबाट काम भएमा अर्को थप दुई साता सडक रोकेर काम गर्दा सम्पन्न हुने अनुमान गरिएको छ । पहिलोपटकका लागि तीन साता सडक रोकेर काम गरिएको हो । थप दुई साता सडक रोकेर काम गरेपछि आकल झुकलबाहेक सडक रोक्न नपर्ने अनुमान आफूहरुले गरेको उहाँले बताउनुभयो । गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो । त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उहाँले जानकारी दिनुभयो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो ।

बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । पछिल्लो पटक थप गरिएको म्याद यही पुस १० गते सकिँदै छ । अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् ।

सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन ।

सेयर गर्नुहोस्

सम्बन्धित समाचार

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षसहित १८ पदमा निर्वाचन हुँदै, सात जना निर्विरोध

उपचारको रकम तिर्न नसक्दा चितवनको अस्पतालमै छन् दुर्गाप्रसाद

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ढिस्को भत्काउने कामले गति लियो

फुड फेस्टिबलको आज अन्तिम दिन, सुप्रिम मल्ल र भुवन प्यासीलगायत आउने

ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते

‘रिभरगाइड’ मजदुरद्वारा पारिश्रमिक वृद्धि गर्न माग